
विदेशी मुद«ाको आयको मुख्य स्रोत नै वस्तु तथा सेवाको निर्यातबाट हुन्छ । तर नेपालमा सन् १९९२ प्रजातन्त्रको पुनरवहालीसंगै प्रथम चरणको नीतिगत सुधारको थालनी गरिएको हुँदा नेपाली अर्थतन्त्रले केहि गति लिएको थियो र छोटो समयको लागि भए पनि भारतमा भन्दा उच्च दरको आर्थिक वृद्धि हासिल भयो । यसै समयमा निर्यातमा आधारित गलंैचा, गार्मेन्ट, पश्मिना, तामाको तार, वनस्पति घ्यूको उद्योग फस्टाएको थियो । यी उद्योगहरुको देनबाट हासिल भएको आर्थिक वृद्धि दिर्घकालसम टिक्न सकेन किन भने विश्व व्यापार संघको प्रावधान अनुसार गार्मेन्टमा नेपाल लगायत अन्य अल्पविकसित देशलाई दिइदै आएको कोटा प्रणाली खारेज भयो । यसको फलस्वरुप नेपालमा उत्पादन भएको तयारी पोशाकले अन्य देशहरुबाट उत्पादन भएको पोशाकहरुसंग प्रतिस्पर्धा गर्न नसकी विकसित देशको बजार क्रमशः गुम्दै गयो । त्यसैगरी गलैंचा उत्पादनमा पनि बालश्रम प्रयोग भएको घटना यूरोपियन देशहरुमा व्यापक प्रचार भएपछि यहाँको बजार पनि न्यून हुँदै गयो । यसका अतिरिक्त, गलैंचा उत्पादनमा गुणस्थर पनि क्रमशः खस्कदै गएको हुँदा ती मुलुकहरुबाट कम माग भएको हो । तामाको तार र वनस्पति घ्यूको प्रमुख माग भारतमा थियो तर भारतले आफ्नो स्वदेशी उद्योगलाई असर पारेको कारण देखाई भन्सारमा विभिन्न प्रतिकुल नियमहरु लागु गर्दा यी वस्तुहरुको निर्यात घट्दै गयो । यसकै कारणले गर्दा भर्खर स्थापना भएका धेरै तामाको तार र वनस्पति घ्यूको उद्योगहरु बन्द भए ।
यी वस्तुहरुमा निर्यातको सम्भावना कम भएपछि वस्तु विविधिकरण गरी अन्य वस्तुहरुको उत्पादन गरी निर्यात गर्न खासै कसैको ध्यान जान सकेन जसको फलस्वरुप नेपालको व्यापार घाटा हरेक वर्ष चुलिदै गएको छ । यसो हुँदा हुँदै पनि नेपालको चालु खाता भने विप्रेषणको कारणले गर्दा वचतमा नै छ । विप्रेषणबाट भएको आम्दानीलाई दिगो स्रोतको रुपमा लिन सकिदैन किनकी हाम्रो देशबाट वैदेशिक रोजगारका निम्ति जाने राष्ट्रहरुले उनीहरुको श्रम नीतिमा थोरै परिवर्तन गर्ने वित्तिकै विप्रेषणबाट हुने आयमा अधिक असर पर्दछ । मलेसिया लगायत अन्य देशहरु विस्तारै ज्ञानमा आधारित अर्थतन्त्रमा परिवर्तन हुन खोज्दैछन तर नेपालबाट यी मुलुकहरुमा रोजगारमा जाने श्रमशक्ति विशेष गरी सीप विहिन हो । त्यसैले वैदेशिक रोजगारबाट हुने आम्दानीलाई अल्पकालीन स्रोतको रुपमा ठीकै भए तापनि दिर्घकालीन स्रोतको रुपमा पक्कै पनि लिन सकिन्न ।
दक्षिण कोरिया, चीन, कोष्टारिका, भारत जस्तै लामो समयसम्म आर्थिक वृद्धि हासिल गर्नको लागि देशभित्र उपलब्ध साधन र स्रोतको अधिकतम सदुपयोग गर्नुपर्दछ । नेपालमा पनि तुलनात्मक रुपमा लाभ भएका पर्यटन, ऊर्जा, कृषि लगायत अन्य क्षेत्रमा स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी बढाउनुपर्दछ । लगानी आकर्षित गर्न समस्याका रुपमा पहिचान भएका वैदेशिक लगानी ऐन, विद्युत ऐन, श्रम ऐन लगायत सम्बन्धित नीतिहरुमा समय सापेक्ष सुधार गर्नुपर्दछ । यसबाट स्वदेशमा नै रोजगारीको अवसर सृजना भएर मानिसहरुको आम्दानीमा वृद्धि भई क्रय शक्ति बढ्नुका साथै राष्ट्रको समग्र आम्दानी बढ्छ । यसको माध्ययमबाट नै नेपाललाई अति कम विकसित राष्ट्रको दर्जाबाट विकासोन्मुख देशको रुपमा रुपान्तरण गर्न सकिन्छ ।
( This article was originally published in Econity on 10th July, 2014).
No comments:
Post a Comment